योआशको दुष्टता
17यहोयादाको मृत्युपछि यहूदाका अधिकृतहरू आए, र राजालाई दण्डवत् गरे। तब तिनले उनीहरूका कुरा सुने। 18तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरको भवनलाई त्यागे; अनि अशेरा देवीका खम्बाहरू र मूर्तिहरूलाई पुजे। तिनीहरूका दोषको कारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आयो। 19याहवेहले मानिसहरूलाई आफूकहाँ फर्काएर ल्याउनलाई अगमवक्ताहरू पठाउनुभयो; अनि तिनीहरूले उनीहरूका विरुद्धमा साक्षी दिए, तर उनीहरूले सुनेनन्।
20तब याहवेहको आत्मा पुजारी यहोयादाका छोरा जकरियाकहाँ आउनुभयो। मनिसहरूको सामु खडा भएर तिनले भने, “परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरू याहवेहका आज्ञाहरू किन उल्लङ्घन गर्छौ? तिमीहरूको उन्नति हुनेछैन। तिमीहरूले याहवेहलाई त्यागेका छौ, यसकारण उहाँले पनि तिमीहरूलाई ल्याग्नुभएको छ।’ ”
21तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र राजाको आज्ञाअनुसार तिनीहरूले उनलाई याहवेहको मन्दिरको आँगनमा ढुङ्गाले हानेर मारे। 22राजा योआशले जकरियाका पिता यहोयादाले तिनीप्रति देखाएको दया सम्झेनन्, तर तिनका छोरालाई मारे। अनि मर्ने बेला तिनले यसो भने, “याहवेहले यो देखून्, तपाईंसित त्यही अनुसारको लेखा लिऊन्।”
23त्यस वर्षको अन्त्यमा अरामको फौज योआशको विरुद्धमा आए। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरे। मानिसहरूका सबै अगुवाहरूलाई मारिदिए। तिनीहरूले लुटका सबै मालहरू तिनीहरूका राजाकहाँ दमस्कसमा पठाइदिए। 24अरामी फौजमा थोरै मानिसहरू थिए; तापनि याहवेहले तिनीहरूका हातमा एउटा धेरै ठूलो फौजलाई सुम्पिदिनुभयो। यहूदाले याहवेह आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेको कारण योआशमाथि न्याय पर्न गयो। 25अरामीहरू हटेर जाँदा तिनीहरूले योआशलाई घाइते अवस्थामा छोडे। तिनका अधिकृतहरूले पुजारी यहोयादाका छोरा जकरियाको हत्याको कारण तिनको विरुद्धमा षड्यन्त्र गरे, तब तिनलाई आफ्ना पलङमै मारे। यसरी तिनी मरे, र दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा गाडिएनन्।
26तिनको विरुद्धमा षड्यन्त्र गर्नेहरू यिनै थिएः अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद। 27तिनका छोराहरूको विवरण र तिनको विषयमा भएका धेरै अगमवाणीहरू र परमेश्वरको भवनको पुनर्निर्माणको विषयमा राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।


