योशियाहका सुधारहरू
1राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। 2तिनले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा हिँडे।
3तिनको शासनकालको आठौँ वर्षमा आफू जवान हुँदै तिनले आफ्ना पुर्खा दावीदका परमेश्वरलाई खोज्न थाले। तिनको बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेमलाई देवस्थानहरू, अशेरा देवीका खम्बाहरू, खोपेका मूर्तिहरू र ढलौटे मूर्तिहरूबाट शुद्ध गर्न थाले। 4तिनको निर्देशनमा बाल देवताका वेदीहरू भत्काइए। तिनले तीमाथि भएका धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारेर आकृतिहरूलाई धुलोपिठो बनाइदिए। तिनले ती कुराहरूलाई धुलोपिठो बनाएर तिनीहरूकहाँ बलिदान चढाउनेहरूका चिहानहरूमाथि छरिदिए। 5तिनले पुजारीहरूका हाडहरू तिनीहरूका वेदीहरूमाथि जलाइदिए। यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध गरे। 6मनश्शे, एफ्राइम, शिमियोनका सहरहरूमा र नप्तालीसम्मै तिनीहरूका चारैतिरका भग्नावशेषहरू मात्र होइन, तर तिनले वेदीहरू र अशेरा देवीका खम्बाहरू पनि भत्काइदिए। 7तिनले ती मूर्तिहरूलाई टुक्रा-टुक्रा पारेर धुलोपिठो पारिदिए; अनि इस्राएलभरि भएका सबै धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारिदिए। तब तिनी यरूशलेममा फर्के।
8योशियाहको शासनकालको अठारौँ वर्षमा तिनले देश र यरूशलेमलाई शुद्ध गर्न भनी असल्याहका छोरा शापान, सहरका प्रशासक मासेयाह र योआहाजका छोरा लेखापाल योआलाई याहवेह तिनका परमेश्वरको मन्दिर मर्मत गर्न भनी पठाए।
9तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए, र द्वारपाल लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै भागबाट, साथै यहूदाका र बेन्यामीनका मानिसहरूबाट र यरूशलेमका मानिसहरूबाट उठाएर परमेश्वरको मन्दिरमा ल्याइएको रकम तिनलाई सुम्पिदिए। 10तब तिनीहरूले त्यो याहवेहको मन्दिरमा भइरहेका कामको जिम्मामा नियुक्त गरिएका मानिसहरूलाई दिए। यी मानिसहरूले मन्दिर मर्मत गर्ने र पुनर्स्थापन गर्ने कर्मचारीहरूलाई दिए। 11तिनीहरूले यहूदाका राजाहरूले भत्किन दिएका भवनहरूका दलिन र थाम्ने काठको निम्ति काटेका ढुङ्गाहरू र काठहरू किन्न सिकर्मी र डकर्मीहरूलाई पनि रकम दिए।
12ती मानिसहरूले विश्वासयोग्यतामा काम गरे। तिनीहरूलाई निर्देशन दिनलाई तिनीहरूमाथि मरारीका सन्तान लेवी यहत र ओबदिया थिए, जो कहातका सन्तान जकरिया र मशुल्लाम थिए। वाद्य-यन्त्रमा दक्ष लेवीहरू थिए, 13जसलाई मजदुरहरूको जिम्मा दिइएको थियो र तिनीहरूले सबै कर्मचारीहरूको काम रेखदेख गर्थे। लेवीहरूमध्ये केही सचिव, शास्त्री र द्वारपालहरू थिए।


