शाऊल र जोनाथनको निम्ति दावीदको विलाप

17दावीदले शाऊल र तिनका छोरा जोनाथनका निम्ति यसरी विलाप गरे, 18अनि यहूदाका सबै मानिसहरूलाई यो विलापको गीत सिकाउने आदेश दिए (यो गीत याशारको पुस्तकमा लेखिएको छ):

19हे इस्राएल, तेरो महिमा, तेरो उच्‍च स्थानमा ढालिएको छ।

कसरी वीरहरू ढलेका छन्!

20गातको सहरमा यो कुरा नभन्‍नू,

न त अश्कलोनका गल्‍लीहरूमा घोषणा गर्नू,

नत्रता पलिश्तीका छोरीहरू खुशी होलान्,

त्यसरी नै खतना नभएका छोरीहरू आनन्दित होलान्।

21“हे गिल्बोका डाँडाहरू हो,

तिमीहरूमाथि शीत नपरोस्, न त वृष्‍टि होस्,

न त तिमीहरूका खेतमा अन्‍न दिने पानी परोस्;

किनकि त्यहाँ वीर मानिसको ढाल अशुद्ध पारियो,

शाऊलको ढाल—अब उसो तेल लगाइनेछैन।”

22मारिएकाहरूको रगतबाट,

वीर मानिसको शरीरबाट,

जोनाथनको धनु कहिल्यै फर्केर आएको थिएन।

शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केर आएको थिएन।

23“शाऊल र जोनाथन

तिनीहरू जीवित हुँदा प्यारा र मनोहर थिए;

अनि तिनीहरूलाई मृत्युले पनि छुटाउन सकेन।

तिनीहरू गरुडभन्दा फूर्तिला थिए,

तिनीहरू सिंहहरूभन्दा पनि बलिया थिए।

24“हे इस्राएलका छोरीहरू हो,

शाऊलका निम्ति रोओ,

जसले तिमीहरूलाई रातो र मिहिन वस्त्र पहिर्‍याए,

जसले तिमीहरूका वस्त्रहरूलाई सुनका गहनाले सिँगारिदिए।”

25वीर सेनाहरू कसरी लडाइँमा ढलेका छन्!

जोनाथन तिम्रा पहाडहरूमा मारिएर ढालिएका छन्।

26मेरा भाइ, जोनाथन म तिम्रा निम्ति शोक गर्छु;

तिमी मेरा निम्ति अति प्रिय थियौ।

मप्रति तिम्रो प्रेम अचम्मको थियो,

स्त्रीहरूको प्रेमभन्दा पनि अझ उत्तम थियो।

27“वीर मानिसहरू कसरी ढलेका छन्!

लडाइँका हतियारहरू कसरी नष्‍ट भएका छन्!”