येशू पक्राउ पर्नुभएको

47उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो। 48त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।” 49यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो।

50येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।”

तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए। 51यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।

52येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्‍ट हुनेछ। 53तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्‍न र? 54तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्‍ने कुरा कसरी पूरा हुने त?”

55त्यस बेला येशूले त्यस भीडलाई भन्‍नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु र? अनि तपाईंहरू मलाई पक्रन तरवार र लाठाहरू लिएर आउनुभयो? म त दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थेँ, र तपाईंहरूले मलाई पक्रनुभएन। 56तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।