प्रार्थनाको विषयमा शिक्षा
5“अनि जब तिमीहरू प्रार्थना गर्दछौ, ती कपटीहरूजस्ता नहोओ; किनकि तिनीहरू अरू मानिसहरूले देखून् भनेर सभाघर र सडकहरूमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना प्रतिफल पाइसकेका छन्। 6तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका बन्द गरेर तिमीहरूका गुप्तमा हुनुहुने पितालाई प्रार्थना गर; तब गुप्त रूपमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई खुल्लमखुल्ला प्रतिफल दिनुहुनेछ। 7अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैँ नबरबराओ। किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्। 8तिनीहरूजस्ता नहोओ; किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भन्ने कुरा तिमीहरूका पिताले जान्नुहुन्छ।
9“तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू:
“ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता,
तपाईंको नाम पवित्र गरियोस्।
10तपाईंको राज्य आओस्,
तपाईंको इच्छा स्वर्गमा झैँ
यस पृथ्वीमा पूरा होस्।
11आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्।
12हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्,
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ।
13हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टदेखि छुटाउनुहोस्। किनभने राज्य,
पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’
14किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ। 15तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।


