येशूको परीक्षा

1तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। 2अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। 3परीक्षा गर्नेले उहाँकहाँ आएर यसो भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।”

4येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”

5तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो। 6अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्; किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ:

“ ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,

अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्;

ताकि तपाईंको खुट्टा ढुङ्गामाथि नबजारियोस्।’”

7येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’”

8फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो, 9अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।”

10त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ”

11तब शैतान उहाँलाई छोडेर गइहाल्यो। अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे।