एउटी आमाको बिन्ती

20तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा येशूकहाँ आइन्, र घुँडा टेकेर उहाँसँग बिन्ती गर्न लागिन्।

21उहाँले सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?”

उनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिनेतिर, र अर्कोचाहिँ देब्रेतिर बस्‍न पाउने मन्जुरी दिनुहोस्।”

22येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो जान्दैनौ। के मैले पिउन लागेको कष्‍टको कचौरा तिमीहरू पिउन सक्छौ?”

अनि तिनीहरूले, “हामी सक्छौँ” भनी जवाफ दिए।

23येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले अवश्य मेरो कचौराबाट पिउनेछौ, तर मेरो दाहिने अथवा देब्रेतिर बस्‍नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू तिनीहरूका लागि हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।”

24जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए। 25येशूले तिनीहरूलाई एकसाथ बोलाएर भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरूले तिनीहरूमाथि शासन गर्दछन्, र तिनीहरूका उच्‍च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् भनी तिमीहरू जान्दछौ। 26तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। 27अनि तिमीहरूमध्ये जो श्रेष्‍ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ। 28यसरी नै मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।”